बेलबारीमा सम्पन्न प्रथम मोरङ जिल्ला स्तरीय अन्तरपालिका डोरीतान प्रतियोगीताको उपाधी बुढीगंगा गाउँपालिकाले जितेको छ । बेलबारी ४ स्थित बेतना युनाइटेड क्लबको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा मिक्लाजुङ गाउँपालिकालाई पराजित गर्दै बुढीगंगा प्रथम भएको हो ।
विजेता टिमले नगद ५१ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो भएको मिक्लाजुङ गाउँपालिकाको टिमले नगद ३५ हजार रुपैयाँका साथै ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।
जिल्ला भरका पालिकास्थरिय टिमलाई सहभागी गराएर बेलबारीमा पहिलोपटक यो प्रतियोगिता आयोजना भएको हो । बेलबारी डोरीतान समितिले आयोजना गरेको प्रतियोगितामा मोरङ जिल्लाका ९ वटा पालिकाका टिमहरुले प्रतिष्पर्धा गरेका थिए ।
डोरीतान खेलमा दुई तर्फ आठ÷आठ जनाको टिम सहभागी भएर नियम अनुसार डोरी आफुतिर बल लगाइ तान्दै निर्धारित दुरी पार गराएर जित्ने कोशिस गरिन्छ । अर्को समुहलाई आफुतिर तानेर तोकिएको रेखा पार गराउन सफल समुह विजेत बन्छ । डोरीतान खेलको महत्व बढाउन र यसको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बेलबारी डोरीतान समितिकी अध्यक्ष शितल रायले बताइन् । प्रतियोगितामा सहभागिताको प्रमाणपत्र वा उपाधी जितेको ट्रफीले अब प्रत्येक पालिकाले यो खेलको महत्व बुझ्ने र प्रवद्र्धनका लागि लगानी समेत गर्ने अपेक्षा गरिएको अध्यक्ष रायले बताइन् ।
प्रतियोगिता बेलबारी नगरपालिकाका उप प्रमुख ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगितामा बेलबारी नगरपालिका,कानेपोखरी गाउँपालिका,बुढीगंगा गाउँपालिका,केराबारी गाउँपालिका,गा्रमथान गाउँपालिका, विराटनगर महानगरपालिका,कटहरी गाउँपालिका,रतुवामाई गाउँपालिका,मिक्लाजुङ गाउँपालिकाका खेलाडीहरुको सहभगिता रहेको थियो ।