जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक

विराटचोकः नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफू लागि पर्ने बताएका छन् । यसअघि उनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री थिए । मोरङ क्षेत्र नम्बर ३ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेद्वार भानुभक्त ढकाल र नेपाली काङ्ग्रेसका उम्मेद्वार सुनिलकुमार शर्मा चुनावी मैदानमा थिए ।

शर्मा र ढकालबीच धेरै नै रस्साकस्सी पर्याे। उनीहरुबीच ठूलै आरोप प्रत्यारोप चल्यो चुनावमा होमिएका बेला । चुनावमा ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गरी विजयी हुँदा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए ।

अहिले संयोग नै मान्नुपर्छ स्वास्थ्य मन्त्री ढकाल भएका छन् । गत चुनावमा शर्माले आफ्नो स्वास्थ्य सेवाको प्रभावबाट मतदाताको मन जित्ने हल्ला थियो । कम्युनिष्टको पकडको क्षेत्रमा शर्माले पाएको सो मतलाई नेपाली काङ्ग्रेसले विजयको रूपमा नै लिएको थियो । अब ढकाललाई यो क्षेत्रमा चुनौति थपिएको छ । मेडिकल कलेज सञ्चालकले जित्लान् वा स्वास्थ्य मन्त्रीले जित्लान् जनताको मन ? शर्माले बेलाबेलामा निःशुल्क स्वास्थ्य शिविरमार्फत् जनताको मन जितिरहेका छन् ।

एउटै क्षेत्रबाट चुनाव लडेका उम्मेद्वार ढकाल र शर्माको क्षेत्र स्वास्थ्य नै परेपछि जनताले नजिक बाट नियाल्ने मौका पाएका छन् । चुनाव हार्ने मेडिकल सञ्चालक र चुनाव जित्ने व्यक्ति स्वास्थ्य मन्त्री भएको यस क्षेत्रका जनताले स्वास्थ्य सेवामा कस्तो सुविधा पाउने हुन् त्यो भने बिस्तारै थाहा हुने नै छ ।