र्यालीमार्फत् सागको ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने

काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवम् १३ औं दक्षिण एशियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भुमा शुक्रबार बिहान ८ बजे ओलम्पियन एवम् नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जीतबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्याली प्रारम्भ हुने खेलाडी सङ्घका अध्यक्ष एवं र्याली संयोजक दीपक श्रेष्ठले जानकारी दिए । टर्च सातै प्रदेशका मुख्य शहरमा पु¥याइने अध्यक्ष श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा सागका कीर्तिमान म्याराथन पूर्व धावक बैकुण्ठ मानन्धरले नेपालमा विगतमा भएका दुई साग भन्दा १३ औं साग भव्य हुने बताए ।

पहिलो दिन र्याली प्रदेश १ को विराटनगर, दोस्रो दिन प्रदेश २ को जनकपुर, तेस्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगञ्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं दिन गण्डकी प्रदेशको पोखरा लगिने भएको छ ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने कार्यक्रम रहेको छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने भएको छ । नवौं दिन काठमाडौंका विभिन्न स्थान परिक्रमा गराई त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।

र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक बिष्ट, एथलेटिक्सका बैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जीतबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजू र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी सङ्घका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी करातेका दीपक श्रेष्ठ सहभागी हुनेछन् ।