सुन्दरहरैंचाका क्रसर उद्योगमा अनुगमन, शुक्रबारको बैठकले थप निर्णय गर्ने

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरको वडा नम्बर ६ र ७ मा सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरेको छ ।

नगर प्रमुख शिवप्रसाद ढकालका अनुसार वडा नं ७ मा रहेको अटल क्रसर उद्योग, पशुपति क्रसर उद्योग र वडा नं ६ मा रहेको पूर्वाञ्चल क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा आएको पाइएको हो ।

आज नगर प्रमुख ढकाल, उपप्रमुख धनमाया तमाङ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, नगर कार्यपालिकाका सदस्य तथा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढाथोकीलगायतको टोलीले अनुगमन गरेको थियो ।

क्रसर उद्योग खोलाभन्दा ५ सय मिटर टाढा सञ्चालन गर्नुपर्नेमा करीब ५० फुट आसपासमै क्रसर सञ्चालन गरेको पाइएको वडा नम्बर १२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले बताए ।

क्रसर उद्योगमा मापदण्डलाई ल्याउन नगरपालिका लागिपर्ने नगरप्रमुख शिवप्रसाद ढकालले बताए । जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, अर्थ मन्त्रालयसहितका प्रतिनिधिसँग शुक्रबार बैठक बसी थप निर्णय लिने नगर प्रमुख ढकालको भनाइ छ ।

व्यवसायीले भने नगरपालिकाले व्यवसायीमाथि दोहोरो कर लगाएको भन्दै उच्च अदालतमा मुद्दा हालेका थिए ।