नेपाल आइस मिस पूर्वाञ्चलको दशौं संस्करणको अडिसन शुरु

धरानः पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित नेपाल आइस ‘मिस पूर्वाञ्चल’को दशौं संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ । धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागी भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

धरानको अडिसनमा धरान, धनकुटा, तरहरा, इटहरी, विराटनगर, बेलबारी र पथरीबाट प्रतियोगी सहभागी भएका थिए ।

अडिसनको निर्णायकमा सिजी बु्रअरीका डेपुटी म्यानेजर खेम कुइँकेल, मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्बुहाङ लिम्बू, मिस पूर्वाञ्चल २०१६ की फस्ट रनर अप इक्सा मादेन, मिस पूर्वाञ्चल २०१७ की फस्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पूर्वाञ्चल २०१८ की फस्ट रनर अप अनिला क्षेत्री रहेका थिए । सहभागीको योग्यता र पर्फमेन्सअनुसार मिस पूर्वाञ्चल २०१९ को अन्तिम प्रर्तिस्पर्धाको लागि छानिने बताइएको छ ।

त्यस्तै, विराटनगर, इटहरी र दमकमा समेत बिहीबारदेखि आइतबारसम्म कलेज एक्टिभेसन र अडिसन गरिने सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । त्यस्तै टाढाबाट आउन छुटेकाहरूको समेत आइतबार सम्म धरानमा अडिसन राखिएको श्रेष्ठले बताए ।

अडिसनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतियोगीको व्यक्तित्व विकास, फेसन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवाकलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञबाट प्रशिक्षण दिइने छ । कार्यक्रमको कोरियोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्नेछिन् । प्रतियोगितालाई प्रदेश नं. १ तथा पूर्वी क्षेत्रव्यापी र पर्यटन प्रबद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमसमेत राखिएको छ ।

सहभागीलाई रक्तदान, ट्राफिक सचेतना र सरसफाइका कार्यक्रम र सामाजिक उत्तरदायित्वका कार्यमा यस वर्ष पनि निरन्तरता दिइनेछ । ती कार्यक्रम पूर्वका विभिन्न शहरमा आयोजना गरिनेछ । वराह गु्रपको प्रस्तुति, सिजी बु्रअरीको मुख्य प्रायोजन र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सहप्रायोजनमा तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुने नेपाल आइस मिस पूर्वाञ्चल २०१९ को अन्तिम प्रतिस्पर्धाका विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै २ लाख नगद र अध्ययनका लागि छात्रवृत्ति दिइने आयोजकले जनाएको छ । मिस पूर्वाञ्चलको ग्रान्ड फिनाले आगामी पुस ५ गते शनिबार धरानमा हुने आयोजकले जनाएको छ ।

त्यस्तै।, फस्ट र सेकेण्ड रनर अपलाई क्रमशः एक लाख र ५० हजार नगदसँगै छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस ब्युटी स्माइल, मिस पर्सनालिटी, मिस ब्युटीफुल कम्लेक्सन लगायतका विभिन्न विधामा समेत प्रतियोगीलाई १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यसअघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङ, २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङ्बुहाङ २०१५ मा मोरङकी प्रियङ्का श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बू र २०१८ मा झापाकी पूजा श्रेष्ठले पाएका थिए ।