नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सोमवार पत्रकार सम्मेलन गरेर नेपालमा दुई जनामा ओमिक्रोन पुष्टि भएको जानकारी गराएको हो ।
गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ’ओमिक्रोन’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जनाकारी दिनुभयो ।
पीसीआर नेगेटिभ रहेको रिपोर्ट र पूर्ण मात्रा खोप लगाएको प्रमाणसहित आएका ती विदेशी नागरिक र उनीसँग सम्पर्कमा पुगेका अर्का व्यक्तिलाई मङ्सिर ७ गते कोरोनासँग मिल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा आइतवार राति ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।