काठमाडौंको भुवनेश्वरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं महानगरपालिका वडा नं.१४ भुवनेश्वरीमा बिहिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल एफएम नेटवर्कको १८ औं बार्षिकोत्सवको अवसर पारी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र वडा कार्यालयसँग सहकार्य गरेर नेटवर्कले शिविर आयोजना गरेको हो ।

   शिविरमा केएमसीका बिशेषज्ञ डाक्टरहरुले ६६५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा उपचारका क्रममा १७१ जना विरामीको रक्त परीक्षण गरिएको छ । मुटुको समस्या आशंका गरिएका १५० जनाको मुटुको परीक्षण (इसीजी) गरिएको छ । त्यस्तै १३५ जना विरामीको पेटको समस्या पहिचानका लागि भिडियो एक्सरे गरिएको छ ।

   दाँतमा समस्या भएर उखेल्नुपर्ने अवस्थामा पुगेका १५ जना विरामीको शिविरमा दाँत उखेलिएको छ । शिविरमा उपचारका लागि भुवनेश्वरी आसपास क्षेत्रका विरामीहरु आएका थिए ।