सोलुखुम्बु पुगेर केएमसीका चिकित्सकले गरे २६ विरामीको निःशुल्क शल्यक्रिया

सोलुखुम्बु ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना विरामीको शल्यक्रिया गरिएको छ । बिभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका विरामीहरुको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् ।
शल्यक्रिया गराउँनेमा शरिरमा गाँठागुठी पलाएकाहरु बढी छन् । केएमसीका शल्यचिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले विरामीको शल्यक्रिया गरेको हो । नेचा सल्यान–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर गरिएकाले विरामीहरुको शल्यक्रिया गर्न सहज भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । ‘सामान्य किसिमको समस्या भएका २६ जना विरामीको शिविरमै शल्यक्रिया गरिएको छ,’ दाहालले भने, ‘स्वास्थ्य केन्द्रमा शिविर गरिएकाले शल्यक्रिया गराउँन सहज भयो, यहाँ शल्यक्रिया गर्न सम्भव नभएका जटिल प्रकारका विरामीलाई अस्पतालमै शल्यक्रिया गराउँन रेफर गरिएको छ ।’
शिविरमा उपचार सम्भव नभएका र शल्यक्रिया गराउँनुपर्ने अवस्थाका १५१ जना विरामीलाई अस्पताल रेफर गरिएको हो । नेचा सल्यान गाउँपालिका वडा नं.२, वडा नं. १ र सल्यानबासी समूहिक युवा समूहसँग सहकार्य गरेर केएमसीले गत आइतवारदेखि बुधबारसम्म चार दिने शिविर सञ्चालन गरेको हो ।
यसैबीच, शिविरमा ९६३ विरामीको रक्त परीक्षण, ७५३ जनाको भिडियो एक्सरे र ३२४ जनाको मुटुको जाँच (इसीजी) सहित ४ हजार १ सय ५० जनाको निःशुल्क उपचार गरिएको आयोजकले जनाएको छ । काठमाडौंदेखि विशेषज्ञ डाक्टरहरु गाउँमा आउँदा शिविरमा विरामीको घुँइचो लागेको थियो । शिविरमा सल्यान टारी, खाल्पा, टुरे, टिलपुङ, कुमाल गाउँ, गैरी डाँडा, खुर्के, रातमाटा, नयाँ बजार लगायत क्षेत्रबाट विरामीहरु उपचारका लागि आएका थिए ।
ग्रामिण क्षेत्रका बिपन्न विरामीलाई लक्षित गरी केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको हो । निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.