केएमसीको स्वास्थ्य शिविरबाट सोलुखुम्बुका ४१ सय विरामीको निःशुल्क उपचार

सोलुखुम्बु ।
सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालित चार दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ हजार १ सय ५० विरामीको निःशुल्क उपचार गरिएको छ । नेचा सल्यान गाउँपालिका वडा नं.२, वडा नं. १ र सल्यानबासी समूहिक युवा समूहसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेचा सल्यान–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गत आइतवारदेखि बुधबारसम्म शिविर सञ्चालन गरेको हो ।

शिविरमा ९६३ विरामीको रक्त परीक्षण, ७५३ जनाको भिडियो एक्सरे र ३२४ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका १६९ जनाको दाँत उखेलिएको छ । शिविरमा सल्यान टारी, खाल्पा, टुरे, टिलपुङ, कुमाल गाउँ, गैरी डाँडा, खुर्के, रातमाटा, नयाँ बजार लगायत क्षेत्रबाट विरामीहरु उपचारका लागि आएका थिए । काठमाडौंबाट बिशेषज्ञ डाक्टरहरुसहितको टोली गाउँमा आउँदा उपचारका लागि विरामीको घुँइचो लागेको थियो ।
शिविरमा केएमसीको जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोनी तथा नसा रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग लगायत विभागका विशेषज्ञ डाक्टरहरु विरामीको परीक्षण गरेका छन् । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि बिभिन्न जिल्लामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।




Leave a Reply

Your email address will not be published.