ए डिभिजन लिग : थ्री स्टार र फ्रेन्ड्सको बराबरी

उपाधि दाबेदार थ्री स्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुक्रवार भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि थ्री स्टारले फ्रेन्ड्ससँ अंक बाँडेको हो ।
५१ औँ मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ८३ औँ मिनेटमा हेमन्त थापामगरको चलाखीपूर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई एक–एक गोलको बराबरीमा ल्याए र यो नतिजा नै निर्णायक बन्यो ।
बराबरीपछि थ्री स्टारले तीन खेलबाट चार अङ्क जोडेको छ । समान तीन खेल खेलेको फ्रेन्ड्सको दुई अङ्क भएको छ ।