ए डिभिजन लिग : आज न्युरोड र ब्रिगेड, मछिन्द्र र आर्मी भिड्दै

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुदैछन । पहिलो खेल न्युरोड टिम एनआरी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीच दिउँसो १ बजे सुरु हुनेछ ।
पहिलो खेलमा विभागीय टिम एपीएफलाई ३–२ गोल अन्तरले हराएको बिग्रेड आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटी यसअघि भएको पहिलो खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
बिग्रेड ३ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ भने अङ्कविहीन एनआरटी १२ औँ स्थानमा छ ।

दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीच दिउँसो ४ः४५ बजे प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा एनआरटीलाई २–१ गोल अन्तरले हराएको मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो ।

मच्छिन्द्र तीन अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ ।