आलु र गहुँका लागि आवश्यक पर्ने मलको अभाव हुने

किसानले यस वर्ष पनि मल नपाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएसँगै गएको वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले फेरी आलु, गहुँ लगायतका हिउदे बालीका लागि आवश्यक पर्ने मल नपाउने भएका हुन ।

आलु र गहुँका लागि आवश्यक पर्ने मल गएको फागुनदेखि नै खरिदको तयारी गर्दा समेत अभाव हुने देखिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रियरूपमा नै रासायनिक मलको मूल्यमा वृद्धि हुँदा मल खरिदको जिम्मा पाएका कम्पनीले मल ल्याउन नसक्दा अभाव हुने देखिएको छ ।
नेपालमा रोपाइँ हुने क्षेत्रफलका आधारमा झन्डै साढे सात लाखदेखि आठ लाख मेट्रिक टन मल आवश्यक पर्छ । त्यसमध्ये साढे पाँच लाख टन आयात गर्न सके किसानले अभाव झेल्नुपर्दैन । मूल्य वृद्धिका कारण मागको तुलनामा न्यून मात्रामा रासायनिक मल आउँदा प्रत्येक वर्ष किसानले मलविना नै खेती गर्नुपर्ने बाध्यता छ ।
कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले यस वर्ष १५ अर्ब रुपैयाँमा दुई लाख मेट्रिक टन मात्र रासायनिक मल ल्याउन सकिने अनुमान गरिएको बताउनुभयो ।
अन्तर्राष्ट्रियरूपमा गएको वर्षको तुलनामा यस वर्ष प्रति मेट्रिक टन ३०० अमेरिकी डलरभन्दा बढीले रासायनिक मलको मूल्यमा वृद्धि भएको छ ।




Leave a Reply

Your email address will not be published.