एउटा कक्षामा २ विद्यार्थीका भरमा पढाइ हुँदैछ सुन्दरहरैंचामा

बिराटचोक : आज अन्तर्राष्ट्रिय बाल दिवस । यसै सन्दर्भमा विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीको अवस्था कस्तो छ भनेर हामी सुन्दरहरैंचाको एउटा विद्यालयमा पुगेका थियौँ । मोरङ जिल्ला एउटा सुगम जिल्ला मानिन्छ । यो जिल्लामा पूर्वपश्चिम लोकमार्गसँगै जोडिएको सुन्दरहरैंचा नगरपालिका पर्दछ । राजमार्गसँगै जोडिएको सलकपुर बजार छेउमा एउटा आधारभूत विद्यालय छ । जहाँ हामी पुग्दा खाजा खाने समय भएको थियो । ८ देखि १० जना विद्यार्थी मात्र चौरमा खेल्दै थिए ।

यो नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक अवस्था र विद्यार्थी सङ्ख्या अत्यन्तै दयनीय अवस्थामा रहेको छ । सुन्दरहरैंचाको वडा नम्बर ८ सलकपुरमा रहेको श्री सूर्याेदय आधारभूत विद्यालय २०५६ सालमा स्थापित विद्यालय हो । यस विद्यालयमा कक्षा ५ मा ५ जना, कक्षा ४ मा २ जना, कक्षा ३ मा ५ जना, कक्षा २ मा ७ जना र कक्षा १ मा १२ जना विद्यार्थी रहेका छन् ।

सो विद्यालयमा ३ जना शिक्षक, २ जना बाल विकास शिक्षक र १ जना कार्यालय सहयोगी कार्यरत छन् ।

स्थानीय सरकारसँगै जनप्रतिनिधि आए पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन कुनै चासो नदिएको त्यहाँ कार्यरत शिक्षक बताउँछन् । यसरी विद्यालयमा विद्यार्थी घट्दै जानुमा अभिभावकहरूमा निजी विद्यालयप्रति चासो बढ्नु नै मुख्य कारण रहेको पाइन्छ । निजी विद्यालयमा अध्ययनरत विद्यार्थी अङ्ग्रेजी भाषामा दख्खल हुने भएकाले निजी विद्यालयमा विद्यार्थी पढाउनुपरेको अभिभावक बताउँछन् । सरकारको प्रत्यक्ष लगानी रहेको सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउँदै ज्ञान, सीप, धारणाको सकारात्मक र आशावादी विचारको बीजारोपण गर्न जरुरी छ ।

अबका दिनमा स्थानीय सरकारले बालबालिकाको अधिकारलाई बढावा दिन, बालबालिकाका लागि राम्रो संसार निर्माण गरी यी कोपिलाहरूको कल्याणका लागि उपयुक्त वातावरण सिर्जना गर्नेसम्बन्धी समाजमा जागरुकता फैलाई सामुदायिक विद्यालय केन्द्रित बालबालिका अभियान नै नचलाए भएका विद्यार्थी उपस्थिति शून्य हुने देखिन्छ ।

आजको दिनमा अन्तर्राष्ट्रिय बाल दिवस मनाउँदा हरेक बुबाआमाले पनि आफ्ना छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ । जीवन एकदमै व्यस्त हुँदै गएको छ । आफ्ना छोराछोरीका लागि पर्याप्त समय र माया दिइएको छ कि छैन ? हाम्रा बालबालिका सही दिशातर्फ गइरहेका छन् या छैनन् ? यदि छैनन् भने हामीले आफ्नो व्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पु¥याउन जरुरी छ ।

सन्दर्भः अन्तर्राष्ट्रिय बाल दिवस २०१९