धरानको मेयर पदका ४ जना उम्मेद्वारले आजको अन्तरसंवादमा यसरी राखे आफ्ना एजेण्डा

धरानः नेपाल पत्रकार महासङ्घले बुधबार धरानमा मेयर पदका उम्मेद्वारहरूसँग संवाद कार्यक्रमको आयोजना ग¥यो । यस्तो संवाद कार्यक्रम पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको थियो ।

संवाद कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेद्वार बनेका प्रकाश राई, नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका तिलक राई, सङ्घीय समाजवादी पार्टीबाट उम्मेद्वार बनेका गजेन्द्र इस्बो र सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चका उम्मेद्वार अमर इजम सहभागी भएका थिए । तिनै उम्मेद्वारले व्यक्त गरेको धारणा यहाँ प्रस्तुत गरिएको छ ।

 

आयआर्जनसँग जोडिएर काम गर्छुः प्रकाश राई
म आयआर्जनसँग नगरवासीलाई जोड्नेछु । पर्यटन, खेलकुद, कृषि, उद्योग शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष काम गर्नेछु । पूर्व मेयर तारा सुब्बाले प्रतिबद्धता गरेका बाँकी काम पूरा गर्नेछु । ‘सादा जीवन उच्च विचार’को भावनालाई आत्मसात गरी काम गर्नेछु । धरानलाई औद्योगिक ग्राम र खेलग्रामको रुपमा विकास गर्न लाग्नेछु ।

 
 
 
 

नेतृत्व र नगरवासीबीचको खाडल पूरा गर्नेछुः तिलक राई
२० वर्षअघि धरान जस्तो अवस्थामा थियो अहिले पनि त्यस्तै अवस्थामा छ । धरानको विकास नहुनुमा नगरको नेतृत्व तहमा बसेका पदाधिकारी र नगरवासीबीच समन्वय नभई खाडल देखिनु हो । धरानमा पूर्व जनप्रतिनिधिले इमान्दारितापूर्वक काम गर्न सकेनन् । सेवाग्राही सचेत हुन जरुरी छ । नगरका हरेक गतिविधिमा नगरवासीको सहभागिता गराई काम गर्नेछु । योजनाबद्ध रूपमा अघि बढ्नेछु ।
 
 
 
 
 

धरानवासीको हितको लागि लडिरहनेछुः गजेन्द्र इस्बो
हाम्रो दल संविधान संशोधनको मागसहित चुनावी मैदानमा रहेको छ । जनतालाई नयाँ दिशानिर्देश गर्न लागिपर्नेछु । आफू भूपू गोर्खा सैनिक भएको हुनाले गोर्खा सैनिकको हकको लागि बेलायती सरकारसँग लड्दा धरानवासीले जसरी साथ दिनुभयो त्यसरी नै अहिले पनि साथ दिनुहुनेछ । विज्ञले दिएको सुझावको आधारमा म अघि बढ्नेछु । बहुमतको दम्भमा नेतृत्वले पेलेर जाने पद्धतिको अन्त्य हुनुपर्छ ।

 
 
 
 
 

 

धरानलाई प्रदेश राजधानी बनाउन लागिपर्नेछुः अमर इजम
पहिचानको विषयमा मेरो मुख्य एजेण्डा हुनेछ । पहिलेको विरासतलाई कायम गर्न धरानलाई प्रादेशिक राजधानी बनाउन लागिपर्नेछु । पछिल्लो समयमा नेतृत्वमा भ्रष्टाचारको गन्ध आउने गरेको छ । त्यसको विरुद्धमा लाग्नेछु । ‘दारी, इमान्दारी, धरानको विकासमा लाग्ने तयारी’ मेरो नारा रहेको छ । इमान्दारी भएठाउँ जनविश्वास हुन्छ । म इमान्दारिताका साथ काम गर्नेछु । सुकुम्बासीलाई घर नम्बर मात्रै दिने होइन धनीपूर्जा दिने काम गर्नेछु

 
 

कार्यक्रममा अमर सेवा समाजका हरिबहादुर लिम्बू, रोटरी क्लबका रबिन श्रेष्ठ, महिला अधिकारकर्मी सबिता राई, लैङ्गिक अल्पसङ्ख्यक दीपिका राई, ज्येष्ठ नागरिक शान्ता अधिकारी, व्यवसायी विष्णु बराल, अधिवक्ता मौसमी राई पत्रकार रत्न आचार्यलगायतले उम्मेद्वारसँग जिज्ञासा राखेका थिए ।

त्यस्तै, विनोद विश्वकर्मा, कुमार कार्की, शिला बज्राचार्य, विनोद आलेमगर, केदार बराइली, हिमाल श्रेष्ठ, प्रेमप्रसाद पराजुली, गंगाप्रसाद रेग्मीलगायतले उम्मेद्वारका एजेण्डामा केन्द्रित रहेर प्रश्न गरेका थिए ।

सहभागीले धरानको खानेपानी, स्वास्थ्य, सीमा विवाद, यातायात, एयरपोर्ट, दलित, जनजाति, महिला आदिका मुद्दा, बसपार्क निर्माण, सुकुम्बासी समस्यालगायतका विषयमा प्रश्न राखेका थिए ।

आज बिहान २ घण्टा चलेको कार्यक्रममा २ सय जनाभन्दा बढी सहभागी थिए । पत्रकार दिलभूषण पाठकले सहजीकरण गरेको उक्त संवाद कार्यक्रममा धरानमा हुने उप निर्वाचनमा उम्मेद्वार रहेका ४ जना उम्मेद्वारले आफ्नो एजेण्डा प्रस्तुत गर्नुका साथै सहभागीले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।