झन्डै ३८ प्रतिशत नागरिकले लगाए कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप

नेपालमा झन्डै ३८ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।
अहिलेसम्म १८ वर्षभन्दा माथिको जनसङ्ख्याको झन्डै ३८ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३७ दशमलव ६ प्रतिशत अर्थात् ७४ लाख ८२ हजार एक सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै ४३ दशमलव नौ प्रतिशत अर्थात् ८७ लाख ५० हजार नौ सय ६० जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ६२ लाख ३३ हजार एक सय ५५ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप लगाउन खरिद प्रक्रिया सुरु भइसकेको जनाएको छ ।