इटहरीका मेयर चौधरीले एमाले जिल्ला कमिटी बैठकमा माइक खोसे

इटहरी ।
इटहरीका मेयर द्वारिकलाल चौधरीले आफू नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष भएको दाबी गरेका छन । सुनसरी जिल्ला कमिटीको बैठकमा मेयर चौधरीले आफू नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष भएको दाबी गर्दै माइक समेत खोसेका हुन ।

इनरुवामा बुधबार बसेको बैठकमा २०७५ जेठ २ अघिका रमेश बस्नेत र पछिल्लो समय अध्यक्षको जिम्मेवारी पाएका रेवतीरमण भण्डारी समूहबीच बैठकको अध्यक्षतामा कसले गर्ने भन्ने विषयमा विवाद थियो ।

विवाद भएपछि मेयर चौधरीले आफू अध्यक्ष भएको दाबी गर्दै माइक खोसेका हुन । रेवती र रमेश कसले बैठकको अध्यक्षता गर्ने भन्ने विवाद भएपछि खेमराज पोखरेललाई अध्यक्षता गर्न दिने समझदारी भएको थियो ।
तर पोखरेलले बोल्ने क्रममा इटहरी उपमहानगरपालिका मेयर तथा एमाले नेता द्वारिकलाल चौधरीले माइक खोसेका हुन् । चौधरीले माइक खोसेपछि केही समय विवाद भएको बैठकले खेमराज पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको जिल्ला समिति सदस्य रवि खनालले बताए ।

अवैधानिक कमिटी भन्दै चौधरीले माइक खोसेका थिए । चौधरीले माइक खोसेपछि कार्यकर्ताले उनको हातबाट पनि माइक खोसे । आफ्नो हातबाट माइक खोसिएपछि भने चौधरीले बैठक कक्ष छाडेका थिए ।