मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा

बिराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले उल्लेख गरेका छन् ।
आज उहाँले विश्वासको मत लिने कार्यक्रम रहेकोमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै राजीनामा दिनुभएको हो । उहाँले विश्वासको मत नपाउने स्पष्ट थियो ।

आचार्य गएको भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । एमाले विभाजन भएपछि प्रदेश १ मा सम्भावित विभाजन रोक्न तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्य एमालेबाट एकल बहुमतको मुख्यमन्त्री बन्नुभएको थियो । तर १० जना सांसद एमाले छाडेर एकीकृत समाजवादीमा गएपछि आचार्य अल्पमतमा पर्नुभयो ।
९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।
अब कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले एकीकृत समाजवादी पार्टीका राजेन्द्र राईलाई मूख्यमन्त्री बनाउने तयारी गरेको छ ।
यसैबीच प्रदेश १ प्रदेश सभाको अर्को बैठक आउँदो २३ गते मङ्गलवारका लागि बोलाइएको छ ।