सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा वर्षाका कारण अढाइ अर्बको क्षति

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा बेमौसमी वर्षाका कारण आएको बाढीले करिब अढाइ अर्बको क्षति भएको छ । ४१ वटा उद्योगमा बाढी र वर्षाको पानी पस्दा दुई अर्ब ४८ करोड ८९ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

अचानक आएको बाढीका कारण ठूलो क्षति पुगेको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए । बाढीको पूर्वानुमान नहुँदा मेसिनरी औजार, तयारी कच्चा पदार्थमा क्षति पुगेको छ ।

उद्योग संगठन मोरङले अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनमा मेसिन र औजारमा ९८ करोड १७ लाख १८ हजार, कच्चा पदार्थमा ७१ करोड २५ लाख ७० हजार रुपैयाँको क्षति भएको उल्लेख छ ।

उद्योगहरुको तयारी वस्तुमा ७६ करोड चार लाख पाँच हजार र सरसफाइ तथा फोहोर व्यवस्थापनमा एक करोड १७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी प्रभावित उद्योगमध्ये २७ वटा उद्योग एक सातापछि सञ्चालनमा आएका थिए । सातवटा उद्योग सञ्चालन हुन अझै दुई साता लाग्नेछ । तीनवटा उद्योग सञ्चालनमा आउन चार हप्ता लाग्ने र चारवटा उद्योग पुनः सञ्चालनमा आउन चार हप्ताभन्दा बढी समय लाग्ने उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले बताए ।