परीक्षण गरिएका नमुनामध्ये पाँच दशमलव दुई प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा नेपालमा परीक्षण गरिएका नमुनामध्ये पाँच दशमलव दुई प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन विधि गरी ११ हजार तीन सय ५५ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख ११ हजार चार सय सात जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार तीन सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार सात सय ८९ पुगेको छ ।
यही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ८२ पुगेको छ ।
अहिले नेपालमा १० हजार दुई सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।