२४ घण्टामा ६ सय ७२ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा देशभर ६ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिको परीक्षणबाट पाँच सय ८२ र एन्टिजेन विधिको परीक्षणबाट ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरी नौ हजार चार सय ९५ नमुनाको कोरोना परीक्षण भएको छ । नेपालमा अहिलेसम्म पीसीआर विधिको परीक्षणबाट आठ लाख १० हजार आठ सय ८० जनामा र एन्टिजेन विधिको परीक्षणबाट ९४ हजार तीन सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय ९५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार एक सय २५ पुगेको छ ।

यही अवधिमा आठ जना सङ्क्रमितको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ८० पुगेको छ ।

अहिले देशभर १० हजार तीन सय ७५ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये दुई सय ५४ जनाको आईसीयू र ८६ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।