नगद, सुनचाँदीका गहना चोरी गर्ने पाँचथरका एक सहित ३ पक्राउ

चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही ठाउँका ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय हरिप्रसाद रसाइलीलाई प्रहरीले पक्राउ गरेको हो ।

कमल र धनलालले विभिन्न सहकारी संस्थाको कार्यालय तथा मानिसहरु नभएको मौका छोपी विभिन्न व्यक्तिका घरबाट नगद तथा सुनचाँदीका गरगहना चोरी गरेर ल्याउने र हरिप्रसादले खरिद गर्ने गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका गहना र दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।