इटहरीबाट प्रधानमन्त्रीद्वारा बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेज ल्याउने भनाइ

इटहरी ।
सरकारले बाढी पहिरोबाट भएको क्षतिलाई गम्भीरतापूर्वक लिएकाले तत्काल ‘राहत प्याकेज’ ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
गत सोमबार भएको बेमौसमी वर्षाका कारण प्रदेश १ का जिल्लामा परेको क्षतिको निरीक्षण गर्न इटहरी आएका प्रधानमन्त्री देउवाले सरकारले ‘रिलिफ प्याकेज’ ल्याउने जानकारी दिएका हुन् ।
उहाँले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढी, पहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरूको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले बाढी, पहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुट्ने काम गरेकोमा सुरक्षाकर्मीहरूको समेत प्रशंसा गर्नुभयो । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताउनुभयो ।