प्रदेश १ मा विश्वासको मतमाथि मतदानै नगरी प्रदेशसभा ८ दिन स्थगित

बिराटनगर ।
प्रदेश १ को प्रदेश सभा बैठक आउँदो कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयले आज आइतवार सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिँदै कात्तिक १५ गते दिउँसो साढे १२ बजे बस्ने जानकारी गराएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठकको मिति सार्न लिखित अनुरोध गरेका कारण बैठक सारिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो । तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो । यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो ।