बेलबारी गोल्डकप कात्तिक ११ गतेदेखि, विजेताले ५ लाख पाउने

बेलबारी ११ लक्ष्मीमार्गमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । कोरोना महामारीका कारण मोफसलमा खेलकुदका गतिविधि ठप्प रहेका बेला डाँगीहाट युथ क्लबको आयोजनामा कात्तिक ११ गतेदेखि प्रतियोगिता हुने भएको हो ।

उद्धघाटन खेलमा रोलिङ क्लब झापा र च्यासल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लक्ष्मीमार्गस्थित मैदानमा प्रतियोगिता आयोजनाका लागि तयारी तीव्र पारिएको छ । आयोजकले शुक्रबार बेलबारीमा पत्रकार सम्मेलन गरी गोल्डकप वारे जानकारी गराएको हो । कात्तिक ११ गतेबाट सुरु हुने गोल्डकपको फाइनल कात्तिक १८ गते हुनेछ ।

क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बेलबारी नगरपालिकाको सहयोगमा र बुद्ध एयरको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न हुने बताए ।
राईले प्रतियोगिता नयाँ खेलाडी उत्पादनका लागि पनि महत्वपूर्ण हुने बताए । कोरोना महामारीको असरले गर्दा यसअघिका २ वर्ष प्रतियोगितालाई निरन्तरता दिन नसकिएको राईको भनाइ छ । प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने गोल्डकप आयोजकले जानकारी दिएको छ । त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११÷११ हजार रूपैयाँ नगद पुरस्कार पाउने अध्यक्ष राइले जानकारी दिए ।

डाँगीहाट युथ क्लबका सल्लाहकार भाइकुमार गुरुङका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने जानकारी उनले दिए ।

प्रतियोगिताबाट नाफा भएको रकम भने खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने घोषणा क्लबले गरेको छ ।