केही दिन बर्षाको सम्भावना

नेपालमा आजदेखि मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा घगर्जन–चट्याङ–हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ ।

प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ–हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।