कर्सियाको सिटिजन्स बैंकबाट २१ लाख ७० हजार लुटियो

मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखाबाट लुटेराको समुहले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटेको पाइएको छ । सोमबार दिउसो पेस्तोल सहित बैकमा पसेको लुटेरा समुहले सुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गरेका थियो ।

बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन । सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैंकले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको जानकारी गराएको छ । लुटपाट भएको रकम भेटिएको छैन ।
लुटपाटको योजना नेपाली नागरिकले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको हो । उनले लुटपाटमा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको बताए ।
प्रहरी उपरीक्षक जिसीका अनुसार मुख्य योजनाकार विराटनगरका पुरुष हुन् । लुटपाटमा संलग्न अन्य सबै भारतीय नागरिक हुन् । उनीहरुले एकअर्कालाई नचिने पनि मुख्य योजनाकारलाई भने चिनेको बयान दिएका छन् ।
प्रहरीका अनुसार चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो । ती मध्ये एउटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । अन्य फरारको खोजी भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।