२४ घण्टामा १४ सङ्क्रमितको ज्यान गयो

नेपालमा पछिल्लो २४ घण्टामा सात सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा सात सय ९२ जना अर्थात् आठ दशमलव २३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा अहिलेसम्म पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणमा आठ लाख ९६ हजार सात सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । आज थपिएका १४ जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप नौ सय १० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७७ हजार सात सय ४१ पुगेको छ । अहिले १४ हजार पाँच सय ५४ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ६ जनाको आईसीयू र एक सय दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।