साफको फाइनल पुग्न नेपालले भोली बंगलादेशको सामना गर्दै

नेपालले साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूहचरणको अन्तिम खेलमा बुधबार बंगलादेशको सामना गर्दैछ । मालदिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ मा सुरु हुनेछ ।

यस खेलमा कम्तीमा बराबरी मात्रै खेल्न सके पनि नेपालले फाइनल यात्रा गर्दै नयाँ इतिहास रच्नेछ ।
यता, २००३ को च्याम्पियन बंगलादेशले भने फाइनल पुग्नका लागि खेल जित्नुपर्नेछ ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म खेलिएका १२ भिडन्तमध्ये ४ खेल नेपालले जितेको छ, चार खेल बंगलादेशले जितेको छ भने ४ खेल बराबरीमै टुंगिएको छ ।
समूह चरणमा पहिलो स्थानको मालदिभ्स र दोस्रो स्थानको नेपालको तीन खेलबाट समान ६ अङ्क छ । गोलअन्तरमा माल्दिभ्सभन्दा नेपाल अघि छ । समान खेलबाट ५ अङ्क जोडेको भारत र ४ अङ्क जोडेको बंगलादेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् । श्रीलङ्काले समूह चरणका सबै चार खेल खेलिसक्दा केवल १ अंकमात्रै जोडेको छ ।
समूह चरणमा शीर्ष दुई स्थान हासिल गर्ने टिमबीच फाइनल भिडन्त हुनेछ ।