सुनसरीबाट अपहरणमा परेका बालकको सकुशल उद्दार

सुनसरी ।
सुनसरीबाट अपहरणमा परेका १३ बर्षिय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । कोशी गाउँपालिका–७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्दार गरेको हो ।

साथै अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पंचायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मिँयालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मिँयाले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्दार गरेको हो ।

अपहरण मुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मिया उपर अपहरण तथा शरीर बन्धक कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।