निःशुल्क स्वास्थ्य शिविरमा नोबेलका डाक्टरले गरे ६ सय विरामीको उपचार

अग्रपंतिमा खटिने यातायात मजदुर र प्रहरी तथा उनीहरुका परिवारका सदस्यलाई लक्षित गरेर आइतवार बिराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसर पारेर विराटनगरस्थित नोबेल मेडिकल कलेज र नेपाल औषधि व्यावसायी संघसँग सहकार्य गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यावसायी महासंघ र यातायात मजदुर संघ तथा संगठनले शिविर आयोजना गरेका हुन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण कुमार बिसीले पानसमा बत्ती बालेर शिविर उद्घाटन गरे । शिविर उद्घाटन गर्दै डिआईजी बिसीले अग्रपंतिमा खटिने लक्षित बर्गले शिविरबाट फाइदा लिने विश्वास व्यक्त गरे । बिहान ९ बजेबाट सुरु भएको एक दिने शिविर अपरान्ह करिब ४ बजे सकिएको छ ।

शिविरमा ५ सय ८९ जना विरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका छन् । नोबेल अस्पतालका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, स्त्रीरोग बिशेषज्ञ प्रा.डा.शान्ति सुवेदी, हाडजोर्नी रोग बिशेषज्ञ डा.रञ्जिव झा, फिजिसियन डा.सन्दिप गुरागाई लगायत बिशेषज्ञ डाक्टरहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा भिडियो एक्सरे, इको, इसीजी, ल्याबटेष्ट लगायत सेवासहित औषधि पनि निःशुल्क प्रदान गरिएको छ । बिशेषज्ञ डाक्टरहरुको उपस्थितीमा शिविर सञ्चालन गरिएपछि विरामीको भीड लागेको थियो । शिविरमा यातायात मजदुर र प्रहरी तथा उनीहरुका परिवारका सदस्यसहित अन्य सर्वसाधरणले पनि निःशुल्क स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ ।