निर्वाचनसम्म संयुक्त सरकार बनाउन मुख्यमन्त्री आचार्यको आग्रह

बिराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संयुक्त सरकार बनाउन आग्रह गरेका छन । बुधबार प्रदेश १ को प्रदेशसभा भवन उद्घाटन गर्दै आचायले निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न आग्रह गरेका हुन ।

‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाउँ, लडाइँ झगडा तछाडमछाड शब्दका वाण यी सबैको के जरुरी प¥यो,’ उनले भने, ‘दशैंमा मासु खाएर ठण्डा दिमागले सोच्नुहोस्, दशैंपछि राम्ररी सल्लाह गरेर संसदमा निष्कर्ष निकालौं ।’
प्रदेशका विपक्षी दलहरुले मुख्यमन्त्री आचार्यले असोज २४ भित्र विश्वासको मत लिइसक्नुपर्ने बताउँदै आएका छन् । कार्यक्रममा बोल्ने विपक्षी नेताहरुले भने मुख्यमन्त्रीले अल्पमतमा परेका कारण नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । काँग्रेसका प्रमुख सचेतक केदार कार्की, माओवादीका दलका नेता इन्द्र आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्र राई, जनता समाजवादीका नेता जयराम यादव लगायतले सरकारले मार्गप्रशस्त गर्नुपर्ने माग गरेका थिए ।