बिराटनगर ।
मानव खप्पर र हातखुट्टाका हड्डी सहित बिराटनगरबाट २ जना पक्राउ परेका छन । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।
विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले सोमबार राति भ्यानबाट शंकास्पद वस्तु फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ती वस्तु मानिसको खप्पर र हातखुट्टाको हड्डी रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।
बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ ।
भारतको जोगवनीबाट नेपाल प्रवेश गरेको को २ च ९६४८ नम्बरको मारुती भ्यानलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा रोकेर चेकजाँच गर्ने क्रममा खप्पर र हाड बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
चेकजाँच सुरु गरेपछि भेनका चालक निस्किएर भागेका थिए । इलाका प्रहरी कार्याल रानीले भ्यानका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भ्यानमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौंँँ लैजाने तयारी रहेको बयान दिएका छन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए ।