धनकुटामा गुडिरहेको बसबाट खस्दा १ को मृत्यु

धनकुटा ।
धनकुटामा गुडिरहेको बसबाट खस्दा एक जनाको ज्यान गएको छ । पाख्रीवासमा बुधबार दिउसो गुडिरहेको बसबाट खस्दा सहचालक भोजपुर नगरपालिका–११ आम्तोकका १७ वर्षीय धनबहादुर पाठकको मृत्यु भएको हो ।

भोजपुरबाट धरानतर्फ जाँदै गरेको बा.२ ख ५८४० नम्बरको बसबाट खस्दा त्यही बसका सहचालक पाठकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरक्षिक डीएसपी दीपककुमार रायले बताउनुभयो ।
पाख्रीवास नगरपालिका–४ रिङकिङ डाँडामा गुडिरहेको बसको ढोकाबाट खसेर पाठक गम्भीर घाइते भएका थिए ।
घाइते भएका पाठकलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।
घटना पछि बस र चालक भोजपुरको अरुण गाउँपालिका–७ का ३५ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।