३३ किलो सुन प्रकरण : गोरेलाई जन्मकैद, सबै प्रहरीले पाए सफाइ

बिराटनगर ।
साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालत मोरङले मुख्य आरोपी चूडामणि उप्रेती ’गोरे’ सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ ।

मङ्गलवार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदको फैसला सुनाएको हो । यस्तै एक जनालाई तीन वर्ष र एक जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिइएको छ ।
३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन् ।
न्यायाधीश भरत लम्सालको फैसलाअनुसार सो प्रकरणमा मुछिएका प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसीले सफाइ पाएका छन् । यस्तै सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यले पनि सफाइ पाएका छन् ।
यस्तै गोरेकी श्रीमती निरू भनिने नर्बदा खरेलले सफाइ पाएकी छन् । जन्मकैद पाउनेमा भने गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।
यस प्रकरणमा प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको अदालतले जनाएको छ ।
यस प्रकरणमा मुख्य आरोपी ’गोरे’ सहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब एक करोड ८० लाखभन्दा धेरै बिगो माग गरिएको थियो ।