लगातार दोश्रो जितसँगै नेपाल साफ च्याम्पियनसिपको शिर्ष स्थानमा

साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोश्रो जित निकालेको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक÷एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक÷एक गोल फर्काए । नेपालका सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २–० को अग्रता बनायो । तर, श्रीलङ्काका ह्यामिल्टनले ५७ औं मिनेटमा एक गोल फर्काए । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका आयुष घलानले खेलको ८६ औं मिनेटमा गोल गरेपछि नेपालले ३–१ को अग्रता बनायो ।
खेलको इञ्जुरी समयमा श्रीलङ्काका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेका थिए ।
लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।
अब नेपालले तेस्रो खेलमा आइतवार भारतसँग खेल्नेछ ।