देशभर थप १० कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन । यो सहित कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ११ हजार एक सय ७४ पुगेको छ ।

२४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार चार र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार दुई सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७० हजार दुई सय २४ पुगेको छ ।

अहिले नेपालमा १६ हजार ६ सय ६ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ५१ जनाको आईसीयू र एक सय १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।