परीक्षण गरिएका नमुनामध्ये ९ दशमलव ४० प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा देशभर परीक्षण गरिएका नमुनामध्ये नौ दशमलव ४० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार ६ सय ९० जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८० हजार एक सय ५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५० जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख ५८ हजार पाँच सय चार पुगेको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप नौ जना सङ्क्रमितको ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८१ पुगेको छ ।
अहिले नेपालमा २० हजार दुई सय ८७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा तीन सय ४७ जनाको आईसीयू र एक सय पाँच जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।