खोटाङका अधिकांश विद्यालय सञ्चालनमा

खोटाङ ।
कोरोना सङ्क्रमणका कारण लामो समय बन्द रहेका खोटाङका अधिकांश विद्यालय सञ्चालनमा आएका छन् । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमि आएसँगै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गर्ने गरी विद्यालय सञ्चालनमा आएका हुन ।

जिल्लामा दुई नगर र आठ गाउँपालिका गरी दशवटा स्थानीय तह रहेका छन् । जसमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन उचित स्वास्थ्य मापदण्ड पालना गर्दै आइतबारबाट विद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा संयोजक तीर्थबहादुर विकले जानकारी दिनुभयो । यस्तै जिल्लाको जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा पनि आइतबार बाटै पठनपाठन सुरु भएको गाउँपालिकाले जनाएका छन् । अनलाइन कक्षा सञ्चालन गरेर विद्यार्थीको पढाइलाई निरन्तरता दिइरहेको भएपनि अनलाइन कक्षा सोचे अनुसारको प्रभावकारी नभएपछि सङ्क्रमण दर घट्दै गएको कारण विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन सुरु गरिएको जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष शङ्खरबहादुर राईले बताउनुभयो । यस्तै जिल्लाको खोटेहाङ गाउँपालिकामा पनि विद्यालय सञ्चालनमा आएको छ ।

शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या कम भएको विद्यालय बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रदिप राईले बताउनुभयो । कोभिड सङ्क्रमण कम भएपछि मास्क र सेनिटाइजर प्रयोग गर्दै विद्यार्थीको जोर बिजोरको सङ्ख्यामा जिल्लाको ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका र रावाबेशी गाउँपालिकामा पनि पठनपाठन भइरहेका छन् । जिल्लाको दुई स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकामा अगामी असोज ३ गते र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा असोज ७ गतेबाट विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने स्थानीय तहको तयारी छ । यस्तै साकेला गाउँपालिकाले भने केही दिनभित्र शिक्षा समितिको बैठक बसेर विद्यालय सञ्चालनमा ल्याउने गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले बताउनुभयो ।
आजको गोरखापत्रबाट