थुनुवाले अध्ययन गर्न पाउने

सुनसरी ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा अनुसन्धानका लागि पक्राउ गरेर राखिने थुनुवालाई पुस्तक पढ्न पाउने व्यवस्था गरिएको छ । प्रहरीले पक्राउ गरी अपराध अनुसन्धानका सिलसिलामा हिरासतमा रहेकाले थुनामा बसेका समयमा विभिन्न प्रकारका पुस्तक अध्ययन गर्न पाउने भएका हुन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले हिरासत कक्षभित्र स्थापना गर्न लागिएको पुस्तकालयलाई साझेदारी नाम दिएर पुस्तक राख्ने क्रमलाई अगाडि बढाएको छ । प्रहरीले फौजदारी अभियोग लागेका व्यक्तिलाई जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय अभियोग दर्ता गरी अपराध अनुसन्धानका लागि पटक–पटक म्याद थप गरी २५ दिनसम्म पुर्जी दिएर थुनामा राख्ने गरेको छ ।
लागूऔषध अपराधको अभियोगमा पक्राउ परेका थुनुवाको हकमा भने प्रहरीले ९० दिनसम्मको अनुसन्धान गर्ने समय पाउने भएकाले लागूऔषधका अभियुक्त लामो समयसम्म हिरासतमा बस्दै आएका छन् । हिरासतमा रहेका थुनुवालाई प्रहरीले शारीरिक र मानसिक यातना दिने गरेको भन्दै प्रहरीको आलोचना हुने गरेको थियो । मानव अधिकारकर्मीले नेपालमा रहेका हिरासत थुनवाका लागि उपयुक्त नभएको भन्दै बेला बेलामा हिरासत सुधारका लागि दबाब दिँदै आएका थिए । हिरासतमा प्रहरीले यातना दिएका कारण कतिपय प्रहरी कार्यालयमा थुनुवाको मृत्युसमेत हुने गरेको घटना सार्वजनिक भएका छन् ।
प्रहरीमाथि अधिकारकर्मी र थुनामा रहेका व्यक्तिले लगाउँदै आएको आरोप सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला प्रहरी कार्यालयको हिरासत भने मानवअधिकारको दृष्टिकोणमा थुनुवा मैत्री हुने भएको हो । प्रहरीले इनरुवामा स्थापना गर्न लागेको पुस्तकालयका लागि विभिन्न व्यक्ति र निकायको सहयोग, सहकार्यमा सुरु गरेको छ ।

प्रहरी हिरासतमा स्थापना गरिने पुस्तकालयका लागि इनरुवा नगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष बसिरमुद्धिन मन्सुरीले १० हजार रुपियाँ बराबरको पुस्तक प्रदान गरेका छन् । वडाध्यक्ष मन्सुरीले प्रहरी उपरीक्षक सञ्जयसिंह थापा र प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीलाई पुस्तक हस्तान्तरण गरेका छन् । प्रहरीले अरु विभिन्न विषयका पुस्तक प्राप्त गरी हिरासतमा रहेका थुनुवाका लागि व्यवस्थित पुस्तकालयको स्थापना गरिने जनाएको छ । त्यसैगरी प्रहरीले थुनुवा कैदीको मनोरञ्जनको लागि टेलिभिजन सेट जडान गर्ने तयारी गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी गराउनुभयो ।
आजको गोरखापत्रबाट