सागमा खटिने स्वयंसेवकका लागि प्रशिक्षण

काठमाडौंः  नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । सागमा खटिने स्वयंसेवकको जिम्मेवारीबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए ।

काठमाडौंमा हुने विभिन्न खेलका लागि ५ सय स्वयंसेवक परिचालन हुँदै छन् । उनीहरूलाई सुरक्षा, अतिथि सत्कार, सागमा सहभागी हुने व्यक्तिले प्रयोग गर्ने एक्रिडेसन कार्ड, अनुशासन, नियम, कानुनलगायतका विषयमा जानकारी गराएको थियो । रमेश खनाल, डा. प्रकाश प्रधान, रुकेश तण्डुकार, चतुरानन्द राजवैद्य, दीपक राई र अर्जुन बिकले प्रशिक्षण दिएका थिए ।

३ दिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन हिजो २ सय १५ जना सहभागी थिए । बाँकीलाई आज र भोलि प्रशिक्षण दिइने बताइएको छ । त्यस्तै, पोखरा र जनकपुरमा हुने खेलका लागि खटिने स्वयंसेवकलाई पनि यस्तै तालिम दिइने सचिव मल्लले जनाएका छन् । पोखरामा मंसिर ५ र ६ तथा जनकपुरमा मंसिर ७ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।

प्रशिक्षणको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।