नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने गोरखापत्रका उपसम्पादकमाथि मुद्दा

काठमाडौंः नक्कली प्रमाणपत्र देखाएर गोरखापत्रमा सेवा शुरु गरेको अभियोग लागेका गोरखापत्रका उपसम्पादक वासुदेव पोखरेलविरुद्ध अख्तियारमा मुद्दा दायर भएको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर सेवा प्रवेश गरेको र बढुवासमेत भएको अभियोगमा पोखरेलविरुद्ध मुद्दा दायर भएको हो । आयोगका अनुसार छानबिन शुरु भएलगत्तै पोखरेलले राजीनामा दिएका थिए ।

आयोगका अनुसार त्रिभुवन विश्वविद्यालयबाट बीए पास गरेको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीविरुद्ध सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको हो । सो घटनामा संलग्न रहेको अभियोगमा त्रिविका तत्कालीन परीक्षा प्रशासन महाशाखाका प्रमुख वैकुण्ठ थपलियामाथि पनि आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।