५४ जिल्लामा वडा अधिवेशन सम्पन्न

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ५४ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । आसन्न १४औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये भदौ १८ गते ३५ जिल्ला, भदौ १९ गते दुई जिल्ला, भदौ २० गते एक जिल्ला, भदौ २१ गते ११ र भदौ २२ गते पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
भदौ २३ गते रुकुम पूर्व र रुकुम पश्चिममा अधिवेशन हुन लागेको उनले बताए ।

दोलखाको क्रियाशील सदस्यता नामावली सोमबार मात्रै प्राप्त भएकाले सो जिल्लामा वडा अधिवेशन केही दिनमा तोकिने समितिले जनाएको छ । यसबाहेक २० जिल्लामा क्रियाशील सदस्यता नामावली प्रकाशनको हालसम्म टुङ्गो लाग्न सकेको छैन । अधिवेशन हुन बाँकी जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट नामावली प्राप्त हुनासाथ तत्काल निर्वाचन अधिकृत खटाई अधिवेशन गराउने तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।