एमसीसीका बारेमा अनावश्यक राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बारेमा अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन ।
नेपाली कांग्रेस संसदीय दलको बैठकलाई मङ्गलवार सम्बोधन गर्दै देउवाले एमसीसीको विषयमा बुझेका भन्दा नबुझेकाहरूले धेरै हल्ला गरेको भन्दै अमेरिकाले नेपालको विकासका लागि दिन लागेको सहयोगको बारेमा बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन दिए ।

बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए । जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए ।
यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’
तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै उनले भने, एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’