समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन

कानेपोखरीः गत असार २४ गते कानेपोखरी–४ मा मोहनसिंह थापाको मृत्यु भएको घटनासँग आफ्नो नाम जोडिएर आएको भन्दै व्यवसायी नवीन पौडेलले खेद प्रकट गरेका छन् ।

आइतबार एकाएक विभिन्न सञ्चार माध्यममा कपोलकल्पित समाचार आउँदा आफ्नो चरित्रहत्या भएको भन्दै उनले प्रेस विज्ञप्तीमार्फत् खेद प्रकट गरेका हुन् । पोष्टमार्टम रिपोर्टबाट आत्महत्या भनी पुष्टि भएको घटनामा हाल आएर सो घटना आत्महत्या नभई हत्या भएको भनी आफूलाई हत्यारा आरोप लगाई दुराशयपूर्ण तरिकाले समाचार सम्प्रेषण भएको उनले पत्रकार सम्मेलनको आयोजना गरी जनाए ।

‘युवा संघ मोरङका अध्यक्षमाथि हत्या आरोप’ शीर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि त्यसको खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए ।

मृत्यु जस्तोसुकै प्रकृतिबाट भए पनि दुखद र पीडादायी हुने र सो घटनाबाट आहात भएको परिवारलाई एक सामाजिक र राजनीतिकर्मीको हिसाबले मानवीय सहयोग गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा उनका साथै उनी निकट राजनीतिक दलले पनि विज्ञप्ती जारी गरी समाचारको बारेमा खण्डन गरेको छ । त्यस्तै, पौडेल आबद्ध रमाइलो युवा परिवार, कानेपोखरी व्यापार सङ्घ र लायन्स क्लब अफ कानेपोखरीले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै पौडेलमाथि लगाइएको आरोपको खण्डन गरेका छन् ।