नेपाल–भारत संयुक्त सैन्य अभ्यास ४ असोजदेखि

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ४ असोजदेखि शुरु हुने भएको छ । कोरोना भाइरस महामारीका कारण रोकिएको १५ औं संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ भारतको पिथौरागढमा हुन लागेको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार अभ्यासमा भारतीय सेनाका ३५० र नेपाली सेनाका ३०० जना सैनिक सहभागी हुनेछन् । मिति तय हुनुअघि नेपाली सेनाको सैनिक प्रतिनिधिमण्डल भारत गएको थियो ।
नेपाली सेनाले विभिन्न मुलुकसँग सैन्य अभ्यास गर्दै आएको छ । भारतसँग हुने अभ्यास ‘सूर्य किरण’ मा सबैभन्दा बढी सैनिक सहभागी हुने गरेका छन् । दुई हप्तासम्म हुने यो अभ्यास २०६७ सालबाट शुरु भएको हो ।