कारोबार रकम बढ्यो, कारोबार रकममा नेपाल बैंकको २५ प्रतिशत हिस्सा

विराटचोकः बैंकहरुको सकारात्मक रिपोर्टको प्रभाव बजारमा पर्दा कारोबार रकम बढे पनि नेप्से सूचक भने ओरालो लागेको छ ।

नेपाल बैंक, नबिल बैंक र एनएमबी बैंकले राम्रो बोनस दिने घोषणा गरेका छन् । बोनस दिइसकेको एनआईसी एशियाको पहिलो त्रैमासिकको रिपोर्टका कारण पनि सो कम्पनीको शेयर किन्न लगानीकर्ता लागेका छन् ।

नेप्से सूचक सोमबार ० दशमलव २४ अङ्कले घटेर १ हजार १ सय ३१ दशमलव १२ अङ्कमा आइपुगेको छ । १ सय ६० ओटा कम्पनीको ३५ करोड ६८ लाख ६१ ह्जार ८ सय ५७ रुपैयाँको शेयर सोमबार किनबेच भएको छ ।

११ लाख ८८ हजार ८ सय ४५ कित्ता सेयर किनबेच हुँदा कारोबार भएका १२ ओटा समूहमध्ये ८ ओटा समूहको सूचक बढेको छ ।

२५ प्रतिशत लाभांश घोषणा गरेको दिन नेपाल बैंकको सबैभन्दा धेरै ८ करोड ३९ लाख ६३ हजार ९९ रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार रकमको दोस्रो स्थानमा एनएमबी बैंक परेको छ । सो बैंकको ३ करोड ६८ लाख ८१ हजार रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको संस्थापक शेयर २ करोड ६४ लाख ९२ हजार रुपैयाँको किनबेच भएको छ ।

अघिल्लो दिन झैँ साल्ट ट्रेडिङ कर्पाेरेशन र घोडीघोडा लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । दुवै कम्पनीको १ सय ५० कित्ताका दरले शेयर किनबेच भएको छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयर ५ दशमलव १९ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा युनिभर्सल पावर कम्पनी परेको छ । यो कम्पनीको शेयरमूल्य ५ दशमलव ४१ प्रतिशतले घटेको छ । हिमालयन पावर पार्टनरको शेयरमूल्य ३ दशमलव ६० र पाँचथर पावरको शेयरमूल्य ३ दशमलव ५७ प्रतिशतले घटेको छ । सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव १६ प्रतिशतले तल झरेको छ ।