डिजेलसहितको ट्यांकर चोरीको आरोपमा एक पक्राउ

बिराटनगर ।
डिजेलसहितको ट्यांकर चोरीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो ।

नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कायालय मोरङले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

आइतबार राति करिब साढे १ बजे विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी भएको थियो । चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।
राति करिब १ बजे चोरी भएको ट्यांकर अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर विराटनगर आइपुगेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार÷पाँच जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । अन्यको खोजी जारी छ ।
यादव निगमका पूर्व चालक हुन् । उनले केही महिना अघि जागिर छाडेका थिए ।