ज्येष्ठ भूपू प्रहरी इटहरीमा सम्मानित

इटहरीः सुनसरीका ज्येष्ठ नागरिक सम्मानित भएका छन् । पूर्व प्रहरी सङ्गठन इटहरी इलाकाले शनिबार इटहरीमा आयोजना गरेको कार्यक्रममा जिल्लाका तीन भूपू प्रहरी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ९४ वर्षीय पूर्व प्रसनि मानबहादुर थापा, ८५ वर्षीय पूर्व प्रनानि चन्द्रबहादुर भण्डारी र ८२ वर्षीय पूर्व प्रनि महेन्द्रराम थापा सम्मानित भएका हुन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी, विशिष्ट अतिथि इनरुवाका मेयर राजन मेहता, पूर्व डीआईजी भक्तिनाथ माझी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल र इटहरीका डीएसपी धर्मराज भण्डारीले संयुक्त रूपमा सम्मान गरेका थिए ।

उनीहरूलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको पूर्व प्रहरी सङ्गठन इटहरीका अध्यक्ष रत्नबहादुर भण्डारीले बताए ।