नेपाल भित्रिएका हात्तीका कारण झापाका स्थानीयबासीमा त्रास

झापा ।
सीमामा लगाइएको विद्युतीय तारबार नाघेर नेपाल भित्रिएका हात्तीका कारण झापाका स्थानीयबासीमा त्रास सिर्जना भएको छ । भारतबाट नेपाल पसेका २० जंगली हात्ती एक महिनादेखि नेपालको जंगलमा डुलिरहेका छन ।

सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते बाहुनडाँगी गौंडा हुँदै भित्रिएका हात्तीको बथान भारततिर फर्किएको छैन । ती हात्ती लामो समय यहीं रहेकाले स्थानीयबासीमा त्रास सिर्जना भएको हो ।
मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शंकर लुइँटेलका अनुसार भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनी नेपाल पस्ने गर्दथे । नेपालले बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको सात वर्षपछि हात्तीको बथान नेपाल पसेको यो पहिलो पटक हो ।
हात्तीको प्रवेशविन्दु बाहुनडाँगीमा दुई दशकदेखि क्रियाशील लुइँटेलका अनुसार २०७१ सालयता हात्ती नेपाल पसेका थिएनन् । यसअघि नेपाल पसेका हात्ती बढीमा चार दिनमै भारततिरै फर्किन्थे । ‘यसपालि एक महिना भइसक्यो, हात्तीको बथान भारततिर फर्किएको छैन,’ उनी भन्छन्, ‘किन फर्किएनन् भन्ने नयाँ खोजको विषय भएको छ ।
अभियानकर्मी लुइँटेलका अनुसार २० मध्ये १८ एउटै झुण्डमा डुल्ने गरेका र दुई दाह्रेहात्ती भने अलग्गै छन् । बथानबाट लखेटिएका हात्तीलाई ‘मालजोरिया’ भन्ने गरिन्छ । ती दुई हात्ती बथानको छेउछाउ नै डुल्ने गरेका छन् । हाल झापामा १३ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।