सिद्धकुमाख गाउँपालिकाका वडाध्यक्षले पदबाट राजीनामा दिएर शुरु गरे शिक्षण पेशा

सल्यानः कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको सिद्धकुमाख गाउँपालिकामा १ जना वडाध्यक्षले पदबाट राजीनामा दिएर प्रावि तहको स्थायी शिक्षक भएका छन् ।

वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहमा अध्यापन गर्न थालेका हुन् । गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको तर्फबाट निर्वाचित उनले प्राथमिक तहको खुला कोटामा मुस्ताङबाट नाम निकालेका थिए । उनी र तत्कालीन नेकपा एमालेका उम्मेद्वार देवेन्द्र रोकाले बराबर मत पाएपछि गोलाप्रथा हुँदा बुढामगर विजयी भएका थिए ।

यस विषयमा थप जानकारी लिन गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेसँग सम्पर्क गर्दा वडाध्यक्षमा अधिकार नभएको भन्दै उनले राजीनामा दिएको बताए । आगामी दिनमा राजनीतिमा नफर्किने बरु शैक्षिक गुणस्तर सुधार्न लाग्ने बुढामगरले बताएको चलाउनेले अध्यक्ष बताए ।

बुढामगरको फोन नम्बर ९८१२८१०३३२ मा सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।